क्यानका दुवै समितिलाई सर्वोच्चले बोलायो ।।

काठमाडौं, माघ १२
सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् राखेपलाई नेपाल क्रिकेट सङ्घ क्यानको तदर्थ समिति गठनबारे कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका प्रधानान्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले राखेपले क्यानको निर्वाचित समितिलाई काम नदिई अर्को तदर्थ समिति गठन गरेकोमा कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्च अदालतले क्यान तदर्थ समितिको काम रोकको विषयमा अन्तरिम आदेश जारी गर्न पर्ने वा नपर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ । निर्वाचनबाट आएको कमिटीलाई काम गर्न नदिएको भन्दै चतुरबहादुर चन्द अध्यक्ष रहेको पक्षले गत पुस २८ गते राखेपलाई विपक्षी बनाई अदालतमा रिट निवेदन दायर गरेको थियो । मङ्सिरमा क्यानको साधारणसभा गरेर चन्द नेतृत्वको नयाँ कार्यसमिति चयन गरेको थियो तर राखेपले सो कार्यसमिति अवैध भन्दै पुनः रमेश सिलवालको अध्यक्षतामा १५ सदस्यीय क्यानको तदर्थ समिति गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *