जनताको सुझाव समेट्नेछौँः रावल

0
477

अछाम, ५ साउन ।
नेकपा ९एमाले०का उपाध्यक्ष भीम रावलले संविधानको पहिलो मस्यौदामा जनताका तर्फबाट प्राप्त सुझावलाई अधिकतमरुपमा समावेश गरिने बताएका छन् ।
संविधान मस्यौदा समितिका सदस्यसमेत रहेका नेता रावलले प्रेस चौतारी नेपालले मंगलबार सदरमुकाम मंगलसैनमा गरेको पत्रकार भेटघाटमा यस्तो बताएका हुन् । संविधानको पहिलो मस्यौदामाथि सुझाव संकलन गर्न गृह जिल्ला अछाममा रहेका रावलले जनताका तर्फबाट प्राप्त सुझाव अध्ययनपछि जनताको चाहनाबमोजिम संविधानको मस्यौदामा संशोधन गर्न सकिने स्पष्ट पारे ।
संविधानसभाले जनचाहना मुताविक संविधान निर्माण गरेर जारी गर्ने बताउँदै नेता रावलले जनताका तर्फबाट राजनीतिक स्थिरता र आर्थिक सम्पन्नताका पक्षमा स्पष्ट दृष्टिकोण आएको बताए । ‘संविधान चाँडो जारी भएर देश आर्थिक समृद्धितर्फ अगाडि बढोस् भन्ने जनताको चाहना रहेको पाएका छौँ,’ नेता रावलले भने, ‘जनचाहना पूरा गर्न सबै राजनीतिक दल इमानदारिताका साथ लाग्नु पर्छ ।’
नयाँ बन्ने संविधानमा जनताका सबै मागको समुचित सम्बोधन होस् भन्नेमा आफूहरु सचेत रहेको उनले बताए । भने, ‘एकपटक लेखेको संविधान युगौँयुग कायम रहने होइन ।’ उनले समयअनुसार संविधान काँटछाँट गर्न सकिने भएकाले अहिले समावेश हुन नसकेका कुरा भविष्यमा आवश्यक भए थपघट गर्न सकिने विकल्प खुला रहेको बताए । संविधानको पहिलो मस्यौदामाथि सुझाव संकलन गरेर रावल बुधबार काठमाडौँ फर्कने कार्यक्रम छ ।

NO COMMENTS

LEAVE A REPLY