यु १९ विश्वकप छनौट स् युगाण्डाविरुद्ध नेपालको उत्कृष्ट जित ।।

0
688

काठमाडौं, असोज २९
उन्नाईस वर्षमुनिको विश्वकप क्रिकेट छनौटको दोस्रो खेलमा नेपालले युगाण्डालाई १ सय ७१ रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरमा टस जितेर ब्याटिङ गर्दै नेपालले २ सय ४३ रनको लक्ष्य दिएको थियो । नेपालले २ सय ४२ रनको योगफल तयार पार्न ५० ओभर नै खेलेर सात विकेट गुमाएको थियो । नेपालका लागि कप्तान राजु रिजालले १ सय १ रन बनाए । १ सय १५ बल खेलेका राजुले ७ चौका र १ छक्का हाने । त्यस्तै आरिफ शेखले ५४ र योगेन्द्र सिह कार्कीले ३० रनको योगदान गरे। जवाफि ब्याटिङ गरेको युगाण्डाले ३६ ओभर २ बलमा सबै विकेट गुमाएर ७१ रन मात्र बनायो । युगाण्डाका लागि कुनै पनि खेलाडीले राम्रो रन बनाउन सकेनन् । नेपालका दिपेश श्रेष्ठले ३ तथा आरिफ शेख, दिपेन्द्रसिंह ऐरी र प्रेम तामाङ्गले दुई दुई विकेट लिए । ५ ओभर २ बल बलिङ्ग गरेका आरिफले मात्र १ रन खर्चिएर २ विकेट लिए । नेपाली बलर सामु निरिह भएको युगाण्डाका ब्याट्स्म्यान सुरुदेखिनै दबाबमा आएका थिए । पहिलो ओभरदेखि नै विकेट लिन थालेका नेपाली बलरले ११ औ ओभरमा पुग्दा युगाण्डालाई १३ रनमा ५ विकेट गुमाएको दयनीय अवस्थामा पुर्याएका थिए । युगाण्डाका गाबुलाले सर्वाधिक २५ रनको योगदान गरे । नेपालले पहिलो खेलमा हिजो पपुवा न्युगिनीलाई ९ विकेटले हराएको थियो । ५ टिम सहभागी यो प्रतियोगिताको विजेता टोलीले आउँदो वर्ष बंगलादेशमा हुने १९ वर्ष मुनिको विश्वकपमा खेल्ने मौका पाउने छ ।

NO COMMENTS

LEAVE A REPLY